स्पोन्सरको चक्करमा कसरी ठगिँदैछन् डिभी परेकाहरु?

 कुनै समय डिभी चिठ्ठा परेमा मात्रै पनि अमेरिका पुगे जस्तै हुन्थ्यो। डिभी पर्नेहरुलाई भिसा नदिएको र नदिने कारण नै नभएकोले नेपालीहरु डिभी परेपछि सजिलै अमेरिका पुगिनेमा ढुक्क हुन्थे। तर पछिल्लो वर्षहरुमा अमेरिकाले एकपछि अर्को गर्दै नियम कडा बनाउँदै लगेको छ र डिभी परेर मात्रै अमेरिका जान नपाउने बनाएको छ।

अघिल्लो वर्ष डिभी परेर अमेरिका जान अन्तरवार्तामा पुगेका पोखराका एक परिवारलाई दूतावासले भिसा अस्वीकार (तत्कालको लागि) गरिदियो। कारण थियो उनको अमेरिकामा प्रायोजक (स्पोन्सर वा उनको जिम्मा लिने) व्यक्ति।

उनको जिम्मा लिने भनेका व्यक्ति यता अमेरिकामा सरकारी सुविधाको प्रयोग गर्ने गरेको भेटियो र उनलाई अर्को स्पोन्सर खोज्न वा नेपालमै बस्न भनियो। अमेरिकामा जाने भन्दै गाउँमा भोज समेत खुवाइसकेको परिवार फेरि अर्को स्पोन्सर खोज्ने तनावमा पर्यो।

उनले साथीभाइको सहयोगमा स्पोन्सर त पाए तर सबै डिभी पर्नेहरु यत्तिको भाग्यमानी हुँदैनन्। एक त स्पोन्सर गर्नेको आर्थिक हिसाब किताब देखाउनु पर्ने र अर्को योग्यता नपुग्ने कारणले गर्दा अमेरिकामा रहेका सबै नेपालीले स्पोन्सर गर्न तयार हुँदैन। यसले कतिपयलाई आफ्नै आफन्त नभएसम्म डिभी परे पनि अमेरिका आउन मुस्किल बनाउँदै लगेको छ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले यहाँ आएर कुनै पनि प्रकारको सरकारी सुविधा लिने सम्भावना भएकाहरुलाई भिसा नदिन कन्सुलर अफिसरहरुलाई निर्देशन दिएको थियो।

अहिले त यसलाई कार्यविधिमै राखेर डिभी पर्नेहरुलाई स्पोन्सर वा अमेरिकामा रहँदा सरकारमाथि भार नबन्ने कागजपत्र देखाउनु पर्ने नियम अनिवार्य बनाइएको छ। यता अमेरिकामा भने यही समस्यालाई यहाँ रहेका केही नेपालीहरुले कमाउने भाडो बनाएक भेटिएको छ।

यस अगाडि नै न्यू योर्कमा बस्ने एक नेपालीले नेपालमा डिभी परेका नेपालीसँग स्पोन्सरको नाममा कमिसन लिएको सूचना बाहिरिएको थियो। उनले नेपालमा डिभी परेका श्रीमान् र श्रीमतीलाई अमेरिकामा स्पोन्सरको एउटा फाराम भरेर पठाएको ५ हजार डलर अर्थात् करिब ६ लाख रुपैयाँ लिएको बताइएको थियो।

भर्खरै मात्रै अर्का एक नेपालीले करिब १९ हजार डलरको मोटो रकम लिएर स्पोन्सर गरेको सूचना सार्वजनिक भएको छ। ५ जनाको परिवारलाई डिभी परेर नेपालबाट आउन लागेको सूचना पाएपछि करिब ३५ हजार डलरबाट बार्गेनिङ गरेर १९ हजारमा कुरो मिलाएको सूचना यहाँकै एक अभियान्ताले सार्वजनिक गरेपछि स्पोन्सरको धन्दाको विषय समेत खुला हुन सुरु भएको छ।

नयाँ नियमअनुसार स्पोन्सर गर्नेले यहाँको सरकारी सुविधा लिएको हुनु हुँदैन। उसको कागजात, कर दाखिला, आम्दानी प्रमाण सहितको स्पोन्सरका लागि चाहिने कागजात अन्तरवार्ताको समयमा बुझाउनु पर्ने हुन्छ। धेरै व्यक्ति आउने भए धेरै नै आम्दानी भएको स्पोन्सर खोजिने हुँदा अहिले यहाँको गन्यमान्य यस्तो पैसा लिएर स्पोन्सरको व्यापार गर्ने कार्यमा लागेको पाइएको छ।

पैसा लिएर स्पोन्सर गर्नु अमेरिकामा अपराध हो। अमेरिका आएपछि स्पोन्सर गर्ने व्यक्तिले रकम लिएको भनेर कानुनी लडाइँ लडे समस्या पैदा हुन सक्छ। त्यसैबाट बच्न नेपालमा आफन्तमार्फत स्पोन्सरको रकम लिने गरेको भेटिएको छ। यो भनेको नेपालमा रहेका उनीहरुको आफन्तलाई पैसा दिने र अमेरिकाबाट स्पोन्सरको पत्र पठाइदिने।

अमेरिकामा रहेका नेपाली र कतिपय आफ्नै आफन्तकै यो हर्कतले डिभी परेर पनि अमेरिका पुग्ने सपना बोकेका नेपालीहरुलाई भने अरु खर्चिलो बनाइदिएको छ।

के स्पोन्सर लेटर अनिवार्य नै हो?

होइन। दूतावास वा कन्सुलर अफिसले यस्तो कागजपत्र माग्नुको प्रमुख कारण भनेको उनीहरु अमेरिका गएर अमेरिकाको सरकारमाथि भार नपरोस् भनेर हो। नेपालमा डिभी पर्नेवित्तिकै सबै अमेरिकी सरकारले गरिदिने, खान बस्न पनि दिने गर्छ भन्ने भ्रम छ।

खासमा डिभी पर्नु भनेको तपाईंलाई अमेरिकामा प्रवेश र स्थायी रुपमा बसोबासको अनुमति मात्रै दिएको हो। यो हिसाबले भन्दा तपाईंलाई भिसा मात्रै दिने हो र बाँकी बन्दोबस्त सबै आफैंले गर्नुपर्छ।

यदि आफैंले गर्न नसकेको अवस्थामा तपाईंले सरकारी सुविधाको लागि निवेदन दिनुपर्ने हुन्छ र निश्चित मापदण्डको आधारमा केही सुविधा लिन सकिन्छ। तर यो सुविधा लिन सजिलो छैन र लिएको खण्डमा तपाईंको आर्थिक हैसियत बिग्रिने भएको कारण नेपालीहरु कमैले मात्रै यस्तो सुविधाको लागि निवेदन दिने गरेको भेटिएको छ।

तपाईंले यही सरकारी सुविधाको लागि निवेदन दिन नपरोस् भनेर कन्सुलर कार्यालयले अहिले भरपर्दो कागजपत्र मागेको हो र यसको लागि व्यक्तिगत स्पोन्सर पत्र मात्रै नभएर अरु पत्रहरु पनि तपाईंले बुझाउन सक्नुहुन्छ।

जस्तै तपाईंलाई अमेरिकामा आफू आउने राज्य र बस्ने स्थानको जानकारी छ र त्यहाँ कोही चिनेको व्यक्तिको व्यवसाय छ भने उनीहरुलाई जब अफर (अर्थात् रोजगारको लागि स्वीकृति दिएको) पत्र पठाउन लगाएर तपाईं आएपछि काम गर्ने सुचिश्चित भएको पत्र बुझाउन सक्नुहुन्छ।

अमेरिकामा धेरै व्यवसायलाई कामदारको आवश्यकता परिरहेको हुन्छ। विशेष गरेर रेस्टुरेन्ट तथा स्टोर वा प्रेट्रोल पम्पहरुलाई सधैँजसो कामदारको आवश्यकता परिरहेको हुन्छ। तपाईं आउन लागेको सहरका कुनै पनि व्यवसायीलाई अनलाइन मार्फत सम्पर्क गरेर आफू उक्त व्यवसायमा काम गर्न इच्छुक रहेको बताए उनीहरुले पनि काममा राख्न चाहेको पत्र पठाइदिन सक्नेछन्। यो अनलाइनबाट आफैंले गर्न सकिन्छ।

अर्को विकल्प भनेको तपाईंसँग नेपालमा राम्रो बैँक ब्यालेन्स वा कुनै व्यवसायबाट आम्दानी भइरहेको छ भने त्यही पैसा लिएर आउने विश्वास कन्सुलरलाई दिएर पनि भिसा प्राप्त गर्न सक्नु हुनेछ तर नेपालको कानुनअनुसार ठूलो रकम विदेश लैजान मिल्ने नमिल्ने र कसरी लैजान मिल्छ भन्ने विषयमा भने त्यहीको बैंक वा राष्ट्र बैंकबाट जानकारी लिन आवश्यक छ।

सामान्य अवस्थामा प्रतिव्यक्ति १५ सय डलर मात्रै लैजान पाउने व्यवस्था भएपनि केही विशेष व्यवस्थाहरु राखिएका छन् जसले त्योभन्दा धेरै रकम कानुनीरुपमा लैजान मिल्न सक्छ। यो विषयमा राष्ट्र बैंकले तपाईंले कानुनी रुपमा कमाएको र जमाएको रकम लैजान अनुमति दियो भने त्यो पत्र पेस गरेर पनि भिसा प्राप्त गर्न सक्नु हुनेछ।



स्पोन्सर नै नभेटिएको खण्डमा पैसा तिरेर स्पोन्सर किन्नुभन्दा सोही बैंक व्यालेन्स कन्सुलरलाई देखाउन सके भिसा पाउने सम्भावना हुन्छ। त्यसैले स्पोन्सर छैन भने बैंक ब्यालेन्स वा स्टेटमेन्ट पनि अन्तरवार्तामा सधैँ लिएर जानुहोला। कस्तो स्टेटमेन्ट चाहिने भन्ने पनि मापदण्ड तोकिएको छ। यसको जानकारी त्यहीको कन्सुलर कार्यालयबाट लिन सक्नुहुने छ। यस्तो जानकारी लिएको कुनै शुल्क लाग्दैन।

स्पोन्सरलाई पैसा तिरियो, अब के गर्ने?

अमेरिकाको कानुन नेपालको जस्तो छैन। यसरी पैसा लिएर स्पोन्सर गर्नु यहाँको कानुनअनुसार दण्डनीय हुन्छ। तपाईंले स्पोन्सरको लागि गर्नु भएको खर्चको सकेसम्म अभिलेख राख्नुहोस र स्पोन्सर गर्ने व्यक्तिको तपाईंले तिरेको रकमसँग कुनै न कुनै किसिमको सम्बन्ध रहेको प्रमाण राख्नुहोस्।

अमेरिका आएपछि यदि तपाईंलाई अनुचित रुपमा रकम लिएको र स्पोन्सरको नाममा आर्थिक शोषण गरेको जस्तो लाग्यो भने कानुनी उपचार खोज्न सक्नु हुनेछ।

डिभी पर्दैमा भिसा पाइँदैन

नेपालमा डिभी परेपछि घर घडेरी बेच्ने र सामान पोको पार्ने जमात हुन्छन्। अमेरिकाले आप्रवासीको हकमा कति बेला कुन नियम परिवर्तन गर्छ भन्ने ठेगान हुँदैन। साथै आन्तरवार्तामा तपाईंलाई अस्वीकृत पनि गरिन सक्छ र डिभी परेका सबै व्यक्तिलाई अन्तरवार्तामा नबोलाइन पनि सक्छ। त्यसैले तपाईंको भिसा स्वीकृत नभएसम्मको लागि कुनै पनि निर्यंण लिन नहतारिनु होस्।

अमेरिकामा कुन राज्यमा जाने?

सामान्यतया डिभी परेपनि अरु भिसा भएपनि एक नेपाली जाने भनेको अर्को नेपाली भएको स्थानमै हो। जसको कारण अमेरिकाको केही राज्यमा नेपालीहरुको बसोबास निकै बाक्लो छ। तर अमेरिकामा कोही आफन्त हुनुहुन्न वा कहाँ जाने भन्ने ठेगानै भएन भने के गर्ने?

यस्तो अवस्थामा तपाईंले एनआरएन अर्थात् गैर-आवासीय नेपाली संघ अमेरिका च्याप्टर वा स्थानीय संघ संस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नुहुने छ। अमेरिकाको प्रायः सबैजसो राज्यमा गैरआवासीय नेपाली संघको च्याप्टर अर्थात शाखा कार्यालयहरु छन्।

अमेरिकामा ५० राज्य छन् र यीमध्ये सबैभन्दा धेरै नेपाली भएका राज्यहरुमा न्यू योर्क, टेक्सास, मेरिल्याण्ड, क्यालिफोर्निया लगायतका हुन्। यी राज्यमा रहेको नेपालीहरुको संघ-संस्थाका पदाधिकारी वा कोही नेपालीहरुलाई सम्पर्क गर्नुभयो भने पनि धेरै हदसम्म सहयोग पाउनुहुने छ।

तर सहयोगको लागि कुनै आर्थिक लेनदेन नगर्नुहोस्। तपाईंलाई स्पोन्सर पत्रको मात्र नभएर यहाँ विमानस्थलदेखि बसोबासको व्यवस्था मिलाइदिने र यहाँको वातावरणमा घुलमिल गराइदिनेसम्मको सहयोगको आवश्यकता हुनसक्छ। 

Post a Comment

0 Comments