अमेरिकामा ट्रम्प युगको अन्त्य

 

 जब २०१५ मा २०१६ को राष्ट्रपति चुनावको मनोनयन हुदैं थियो त्यहीँ समय एक समूह ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात ‘अमेरिकालाई फेरि उष्कृष्ट बनाऔं’ भन्दै उदायो। यो त्यहीँ समूह थियो जो सन् १९८७ र २००० मा राष्ट्रपतिको चुनावमा उठ्ने कोशिसमा थियो तर सन् २००० पछि लगभग गुमनाम अवस्थामा थियो। त्यहीँ समूह अर्थात न्यूयोर्कका विवादित व्यापारी डोनाल्ड ट्रम्पले जब चुनाव लड्ने घोषणा गरे उनलाई यहीँ नाराले चुनाव जितायो र यो अमेरिकन राष्ट्रपतिहरुको चुनाव मध्येकै लोकप्रिय नारा बन्यो।

यो नारा मात्र थिएन यसमा यहाँका सेताजाति भनिने रैथाने अमेरिकनको कुण्ठा भरिएको थियो। हो ट्रम्पले त्यहीँ कुण्ठालाई उचाले र राष्ट्रपतिको चुनाव जिते, त्यसैको आडमा ४ वर्ष शासन पनि गरे। उनले अमेरिकी रैथानेलाई यसरी उचाले कि जनताको मनमा पर्‍यो आप्रवासी र विदेशी कम्पनीहरू अमेरिकाको शत्रु हुन्।

जब एउटा राजनीति भन्दा व्यवसायमा दख्खल राख्ने व्यक्ति अमेरिकाको राष्ट्रपतिजस्तो पदमा पुगे के हुन्छ भन्ने उदाहरण छाड्दै ४ वर्ष अमेरिकालाई नाम भन्दा बदनाम गराएका राष्ट्रपति ट्रम्प आज अर्थात बुधबारबाट निवर्तमान हुँदैछन्। औपचारिक रूपमा राष्ट्रपति कार्यालय अर्थात ह्वाइट हाउसबाट विदा हुँदैगर्दा समेत उनी शान्तसँग विदा हुन सकेनन्। अघिल्लो साता मात्रै यहाँको संसद भवनमा भएको आक्रमणको दोषीका रूपमा कालो टिका लगाउँदै उनी बाहिरिँदै छन्।

चार वर्षे राष्ट्रपतिकालमा गरेका कयौं विवादित निर्णय। विवादित भाषण सबैलाई ओझेलमा पार्ने गरि अघिल्लो साता यहाँको संसद भवनमा ट्रम्पकै अप्रत्यक्ष आव्हानमा भएको आक्रमणले उनको बचेको छविसमेत ध्यस्त पारिदियो।

सामाजिक सञ्जालमा सक्रिय उनलाई प्राय: सबै सामाजिक सञ्जाल सञ्चालकले प्रतिबन्ध लगाए। प्रजातान्त्रीक देशको राष्ट्रपतिलाई उनको कार्यकालमै प्रतिबन्ध लगाएर सामाजिक सञ्जालले पनि नयाँ इतिहास बनाए। यतिमात्र नभएर यसैको कारण उनले तल्लो सदनबाट महाअभियोगको सामना गर्नुपर्‍यो।

एक हिसाबले ४ वर्षको उनको राजनीतिक मिहेनत चुनावको नतिजालाई स्वीकार्न नसक्दा एकै दिनमा ध्वस्त भयो। राजनीतिक मात्रै नभएर उनको आर्थिक र व्यवसायीक छविसमेत धुमिल भयो। अमेरिकाका मुख्य व्यवसायीक घरानाले अब ट्रम्पको कुनै पनि अभियानलाई सहयोग नगर्ने घोषणा गरिसकेका छन् भने न्यूयोर्कमा केही निकायले ट्रम्पको नाम जोडिएको कुनै पनि व्यवसायसँग व्यापारीक सम्झौता नगर्ने घोषणा गरेको छ। एक हिसाबले उनी अब राजनीति मात्रै नभएर आर्थिक रूपमा पनि ओरालो लाग्नेछन्।  

विश्वव्यापी मान्यता र विज्ञान विपरित जब नजानेको विषयमा पनि आफ्नो धारणा राखिदिने ट्रम्प अमेरिकाका पूर्वराष्ट्रपति मात्र नभएर एक इतिहाँस भएर रहने निश्चित छ। अमेरिकाको इतिहासमै पहिलो दुई पटक यहाँको तल्लो सदनबाट महाअभियोग खेपेका ७४ वर्षिय यी वृद्ध अब फेरि राष्ट्रपतिमा चुनाव जितेर फर्कने सम्भावना कम छ किनकि, उनलाई पूर्व राष्ट्रपति भए पनि माथिल्लो सदनले महाअभियोग लगाउने छ र माथिल्लो सदनमा अब उनको विरोधी पार्टी अर्थात डेमोक्राटको बहुमत हुनेछ। दुई पटक महाअभियोग र ५ जनाको ज्यान जानेगरी भएको संसद आक्रमणको जिम्मेवारको रूपमा उनलाई अमेरिकी जनताले अब कहिल्यै विर्सनै छैनन्।

देश अमेरिका भए पनि ट्रम्प आफ्ना समर्थकको विषयमा जे पनि बोलिदिन्थे जसलाई समर्थकले हुटिङको साथमा ताली दिन्थे। अमेरिकामा अहिले पनि ट्रम्पको समर्थक त्यस्ता छन् जो उनले चुनाव हारेको स्वीकार्न तयार छैनन्।

विज्ञानले मानेको मौसम परिवर्तनको विषयलाई उनी हावामा उडाईदिन्थे। हाम्रा प्रधानमन्त्री केपी ओलीले बेसारपानी भनेजस्तै कोरोनाको उपचारको लागि क्लोरोक्वाईन फोस्फेट नामक विषादीले ठिक हुने बताएका ट्रम्पको कुरा सुनेर उक्त विषादीको प्रयोग गर्दा एरिजोना राज्यमा एक व्यक्तिको ज्यानै गयो।

उनको कुरा सुन्दै सरसफाइमा प्रयोग हुने पदार्थको सेवन बढ्न थालेपछि यहाँका कम्पनीले उपभोक्तालाई सचेत नै गराउनु पर्‍यो। पेरिस वातारण सम्झौताबाट बाहिरने निर्णय होस वा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय नै किन होस्। अमेरिकामा समर्थकबाट वाहवाही पाएका उनले विश्वमा भने एउटा विवादको कुण्डदान गरेर राष्ट्रपति भवन छोड्डै छन्।    

विभिन्न सात मुश्लिम बाहुल्य देशबाट आउने आप्रवासीलाई प्रतिबन्ध लगाउने निर्णय, डिभी तथा एचवानीबी भिसाको विषयमा प्रचारवाजीले गर्दा उनले देशमा समर्थकबाट त वाहवाही पाए तर विदेशमा उनको सम्बन्ध बिग्रदै गयो। अझ व्यापारिक प्रतिश्पर्धी राष्ट्र चीनलाई गरेको व्यवहारले एक किसिमको व्यापार युद्वकै अवस्था श्रृजना गरिदियो। अमेरिका फस्ट अर्थात अमेरिका पहिले भन्ने नाराले केही उद्योगलाई त फाइदा भयो तर चीन निर्भर धेरै उद्योग राष्ट्रपतिको कर योजनाले संकटमा परे।

आयातित सामानको मुल्य वृद्धि हुँदा आखिरमा मार अमेरिकी उपभोक्तालाई नै पर्‍यो। दुई देशको निकासी कर युद्वको मारमा अमेरिकी जनता परे।

किनकि, अमेरिकी बजार राष्ट्रपति ट्रम्पले माने पनि नमाने पनि चीन आश्रित नै छ। कोरोना नियन्त्रणको लागि प्रभावकारी भूमिका खेल्न नसकेको तथा देशमै आफ्नो नीति अनुसार रोजगारी वृद्धि गर्न नसकेको आरोपको बिचमा गत नोभेम्बरको चुनावले अन्ततः उनलाई पराजित मात्रै गरेन यस अगाडिको दुई कार्यकाल राष्ट्रपति दोहोरिने धेरैजसो परम्परालाई पनि उनले तोडे। यतिमात्रै नभएर चुनावको परिणाम नस्वीकारेर अरू विवादमा फस्ने काम गर्दै अमेरिकाको लागि एक इतिहास बने। 

जाँदाजाँदै मंगलबार पहिल्यै रेकर्ड गरिएको विवाई सम्बोधनमासमेत उनले चुनाव हारेको र ओबामा कार्यकालका उपराष्ट्रपति जो बाइडेनले चुनाव जितेको स्वीकार्न सकेनन्। उल्टै उस्तै रवैयाको साथमा आफ्नो अभियान अब सुरू भएको धम्की दिए। वर्तमान राष्ट्रपतिले आगामी राष्ट्रपतिलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै उनले राष्ट्रपतिको सपथग्रहण कार्यक्रममा सहभागि नहुने घोषणा गरे। यी सबै रवैयाले अमेरिकामा अब ट्रम्पकाल सकिएको आभाष भएको छ। यसले अरूलाई नभएर उनी आफैंलाई राजनीतिक यात्रामा विट लगाउनसक्ने निश्चित छ।

वाइडेनको सकस  

बुधबारबाट राष्ट्रपतिको कार्यभार सम्हाल्ने जो बाइडेन एक अनुभवी राजनीतिक खेलाडी हुन्। ४६ औं राष्ट्रपतिको लागि सपथ खाँदै गर्दा कारोनो माहामारीको कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ।

कोरोना नियन्त्रणमा प्रभावकारी कदमको साथमा ट्रम्पले विगारेको काम सपार्नुपर्ने जिम्मेवारी उनको काँधमा छ।  उनीसँग ३० वर्षभन्दा धेरै राजनीतिमा भिजेको अनुभव छ तर ट्रम्पले विगारेको कामलाई सही ढंगमा ल्याउनु उनलाई हम्मेहम्मे देखिन्छ। चीनसँग बिग्रिएको सम्बम्ध सुधार गर्नु, कोरोना महामारीले थलिएको अर्थतन्त्र र रोजगारीलाई सही ढंगमा कुदाउनु उनको लागि चूनौतीपूर्ण हुनसक्छ।

उनले राष्ट्रपतिको कार्यकाल सम्हालेपछि पहिलो काम नै पेरिस वातावरण सम्झौतामा पुनः सहभागि हुने र मुश्लिमको नाममा प्रतिबन्ध लगाएका देशको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका छन्। योबाहेक राहत कार्यक्रम र आर्थिक सुधारको कार्यक्रम घोषणा गर्ने योजना पनि उनको पहिलो कार्यसूचीमा रहेको छ।

Post a Comment

0 Comments