जब अमेरिकामा एक नेपाली छोरा च्यापेरै मृत्यूसंग हारे !

फोटो :फेसबुकबाट र सार्वजनिक भएका समाचारहरुबाट 

शिवहरि खतिवडा (न्यूर्योक पोष्टको सहयोगमा )

बाल्टिमोर ।  मृत्यूलाई जित्न अन्तिम अवस्थासम्म संघर्ष गरिरहे । आफू भन्दा पहिला आफ्ना १९ महिने छोरा र श्रीमतीलाई बचाउन हरसम्भव प्रयास गरे । आफ्नो कोठामा समुद्र नै फुटे जसरी पसिरहेको बाढीको पानीमा विद्युत प्रवाह नहोस भनेर सबैभन्दा पहिला विद्युत बन्द गरे, एक हातले छोरा च्यापे र अर्को हातले फोनमा सहयोग माग्दै श्रीमती र आफू निस्कने बाटो खोज्दै थिए त्यतिकैमा पानी घाँटीसम्म हुँदै छिनभरमै आफू र सानो छोरालाई डुबायो । मृत्यूलाई जित्न गरेको अन्तिम संघर्षमा उनी आफू मात्रै पराजित भएनन्, श्रीमती र छोरा गरी उनको परिवार नै पराजित भयो ।             
आफ्नो सानो छोरा च्यापेर मुस्कुराइ रहेका आङ गेलु लामाले फोटोमा जस्तै छाफ्नो छोरा च्यापेरै जिन्दगीको अन्तिम स्वास लिए । उनले आफू मात्रै नभएर छोरा र श्रीमतीलाई पनि बचाउन सकेनन् । बुधबारसम्म अमेरिकाको न्यूयोर्क राज्यको क्वीन्स शहरमा हाँसीखुसी रमाइरहेको यो नेपाली परिवारलाई पापी आइदा नाम दिएको एक आँधी (हुरिकेन) पछि आएको भीषण बाढीले खोसेर लग्यो । 
नेपाल जन्मघर सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी रहेका लामाको परिवार न्यूयोर्कको क्वीन्स शहर बस्दै आएको थियो । भीषण वर्षापछि शडकमा आएको बाढी घरमा पस्दा लामा, श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र १९ महिने छोरा लोप्साङ लामाको निधन भएको हो । प्राप्त समाचार अनुसार उनीहरु न्यूयोर्क राज्यको क्वीन्समा एक भवनको सबैभन्दा पहिलो तल्ला अर्थात भुईतल्लामा बस्दै आएका थिए । 
लामा परिवारको शव पहिलो पटक देखेका लामाकै भारतीय मुलका घरधनीले मलिनो स्वरमा लामा र उनको छोरा अंगालोमा बेरिएकै अवस्थामा मृत देखेको र उनको श्रीमतीलाई केही पर तैरिरहेको देखेको बताउँदा समाचार संकलनको लागि पुगेका पत्रकारहरुको समेत आँखा रसाएको थियो ।  
लामाकी छिमेकी डोब्राह टोरेसले बताए अनुसार लामा परिवारको भूईतल्लामा पानी भरिएपछि निस्कन नसक्दा ज्यान गएको हो । ४८ वर्षीय मिङ्मा, ५० वर्षिय गेलु र उनको करिब १९ महिने छोरा लोप्साङको ज्यान गएको यो घटनाले अमेरिकामा रहेको नेपाली समाज मात्र नभएर धेरै अमेरिकीको समेत आँखा रसाएको छ । यहाँको चर्चित समाचारपत्र न्यूयोर्क पोष्टले यो एक पिडादायी दुर्घटना भएको भन्दै समाचार प्रकाशन गरेपछि धेरै अमेरिकीले लामा परिवारलाई समवेदन दिएका छन् भने पानीको निकास दिन नसकेकोमा स्थानीय प्रशासनको आलोचना गरेका छन् । 
फोटो: फेसबुकबाट र सार्वजनिक भएका समाचारहरुबाट 

लामाकी छिमेकीले बताए अनुसार लामाले अन्तिम अवस्था सम्म आफू, छोरा र श्रीमतीलाई बचाउन संघर्ष गरिरहेका थिए । उनले सहयोगको लागि घरधनी र छिमेकीलाई बारम्बार फोन गरिरहेका थिए । ‘उनीहरुले घरधनीलाई पनि सहयोगको लागि फोन गरिरहेका थिए तर केही मिनेटमै उनीहरु डुबे’ प्रत्यक्षदर्शी टोरेसले न्यूयोर्क पोष्टलाई भनिन् ‘हामीसंगै रहेका घरधनीले फोनमै भूइतल्लाबाट बाहिर निस्कन चिच्चाईरहेको सुनेको थिएँ, त्यसको केही समयपछि उनीहरुको फोन पनि उठ्न छोड्यो ।’
राती साढे ३ बजेतिर उद्धारको लागि गएको टोलीले उनीहरु तिनै जनाको शवलाई उद्धार गरेको थियो । 
छोरालाई घरमै होम ट्यूसनको लागि राखेकी शिक्षिका उनको विद्यार्थीको निधन भएको खबरले निकै भावुक भएकी थिईन । ‘म बच्चालाई हेर्न आएको थिए तर बेबीको मृत्यू भइसकेको रहेछ, खासमा उनीहरुको परिवारै सखाप भएछ’ शिक्षिका मार्था सौरिजले भनिन्‘म यो घटनाले पुरै निरास र चिन्तीत भएँ’ 
उनीहरुको घरधनी भारतीय मुलका राधेन्द्र शिवप्रसाद रहेको बताईएको छ । ‘जब म त्यहाँ पुगे बुबा र छोरा एक कुनामा बाबुले च्यापिरहेकै अवस्थामा थिए भने उनकी श्रमतीलाई केही पर तैरिरहेको अवस्थामा देखे’ शिवप्रसादले भनेको न्यूयोर्क पोष्टले उल्लेख गरेको छ । सबैभन्दा पहिला लामापरिवारको शव उनै शिवप्रसादले देखेका थिए । 
युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कका पदाधिकारीहरुले उनीहरुको विषयमा के गर्ने भन्ने छलफल भइरहेको बताएका छन् । नेपालमा र न्यूयार्कमै रहेको आफन्तहरुसंगको छलफलपछि अब के गर्ने भन्ने विषयमा निर्षय हुने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन् । 
उता अमेरिकामा रहेका अन्य नेपाली संघ संस्थाका पदाधिकारीहरुले पनि यो घटनाले दुखि बनाएको बताएका छन् । ‘न्यूयोर्क राज्यमा आएको पछिल्लो प्राकृतिक विपत्ति (भिषण वर्षापछि घर भित्र पानी पसेर) शेर्पा, उहाँकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उहाँहरुका १९ महिने छोरा लोप्साङ लामाको निधन भएको खबरले मर्माहत बनाएको छ ।’ गैर आवासीय नेपाली संघ अमेरिकाका निर्वतमान अध्यक्ष शुनिल शाहले लेखेका छन् ।
आइदापछि आएको बाढी र तूफानबाट न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता पेन्सिलभेनिया र मेरिल्याण्डमा थप ४ जनाको मृत्यु भएको बताईएको छ । अमेरिकाको पूर्वी तटिय क्षेत्रमा आएको आँधीको कारण धेरै राज्य प्रभावित भएका छन् । केही राज्यमा संकटकाल लगाईएको छ । 


Post a Comment

0 Comments