एनआरएनए अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण


काठमाडौं ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा सघाउन पठाएको स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले ३ करोड १६ लाख रुपियाँ मूल्य भन्दा बढीका स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य मन्त्रालयमा नै कार्यक्रम गरी स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा राज्य मन्त्री श्रेष्ठले सहयोगका लागि एनआरएनए अमेरिका, सहयोगी सङ्घ संस्था ,अमेरिका निवासी सबै नेपालीहरू तथा अमेरिकी सरकारलाई धन्यवाद दिनु भयो । हस्तान्तरण समारोहमा सङ्घका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल, एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए अमेरिकाका सल्लाहकार वेद खरेल, एनआरएन ऐशिया प्यासेफिक पूर्ब महिला संयोजक जुनु गुरुङ्, क्यानाडाका महासमिति सदस्य तुल भट्टचन, सामाजिक अभियान्ता जेपी श्रेष्ठ, ने.वि.संघको पूर्व केन्द्रिय सदस्य अनिल खनाल, ने.वि संघको पूर्व इकाई अध्यक्ष अनुप के.सी एनआरएनए अभियन्ता पूर्ण चन्द्र बानिया र पत्रकार पुरुषोतम ढकाल ,बरिष्ठ जन स्वास्थ अधिकृत भिम प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

कोभिड–१९ विरुद्धको अभियानमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गरेको सहयोगको स्वास्थ्य मन्त्री श्रेष्ठले सह्राना गर्नु भयो । स्वास्थ्य मन्त्रालयले गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई प्रशंसा पत्र प्रदान गरेको छ ।
गत शुक्रवार अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट झन्डै ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको थियो । एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको जहाजले स्वास्थ्य उपकरण र सामग्री नेपालसम्म निःशुल्क ढुवानी गरेको हो । आगामी दिनमा आपत् – विपद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अक्सिजन कन्सनट्रेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

Post a Comment

0 Comments