नेपालीलाई ‘उल्लु’ बनाउने सगुनको बैगुन !

योजना र नाफा छैन, नेपालीमाथी भावनात्मक ‘ब्याल्कमेलीङ’  

राम पाण्डे 

काठमाडौं । प्रत्येक वर्ष गैर आवासीय नेपाली संघ(एनआएन)को सम्मेलनको समयमा निकै जुर्मुराउने र सुनिने संस्थाको नाम हो सगुन अर्थात अग्रेजीमा sagoon.com । यसपाली पनि एनआरएन सम्मेलन सुरु हुँनै लाग्दा यो संस्थाले केही भ्रामक प्रचार सुरु गरेको छ । टेक्सासमा बस्ने एक नेपालीको ठूलो लगानी, सगुनको नयाँ दशैको आक्रामक योजना आदि इत्यादि । आखिर एनआएर सम्मेलन कै समयमा किन यसरी गरिन्छ प्रचार ? सामान्य हो ५ वर्षदेखि घिटी घिटीको अवस्थामा रहेको यो कम्पनीमा लगानी जुटाउने नयाँ आइडिया ।   

पछिल्लो समय यमुना भट्टराईले ठूलो लगानी गरेको भन्दै अमेरिकामा रहेका केही सगुनको नुनपानी खाएका मिडियाहरुले प्रचार गरेपछि हामीले भट्टराईलाई सम्पर्क गर्दा उनले स्टार्ट-अप कम्पनी भएको र आफूले विश्वास गरेको प्रतिक्रिया दिईन । यसको मतलव उनको लगानी रहेको भन्ने नै हुन्छ । भट्टराई उनै व्यक्ति हुन् जो आउने एनआएन निर्वाचनमा उत्तर अमेरिकाको
लागि क्षेत्रीय महिला संयोजकको उमेदवार छिन् । भट्टराई र सगुन दुबैलाई प्रचार चाहिएकोले नै यस्तो भएको हुनसक्नेमा दुविधा छैन तर व्यक्तिगत विषयलाई हामी यहाँ धेरै चर्चा गर्दैनौं ।  

के सगुन भन्ने कम्पनी लगानी गर्नै नहुने संस्था हो र ? होईन, तर यो संस्थाले सेयरबाट रकम उठाउन थालेको सन् २०१६/१७ बाटै हो । सामान्यतया लगानीकर्ताहरुले स्टार्ट अप कम्पनीमा हेर्ने भनेको कम्पनीको उत्पादन अर्थात प्रोडक्ट हो । यसको प्रोडक्ट नै 'सगुन' नाम गरेको एक सामाजिक सञ्जाल जस्तो एप हो । तपाईहरुलाई थाहै छ यस्तो एप एक सामान्य आईटी ईन्जिनियरले बनाएर सञ्चालनमा ल्याउन सक्छन र अहिले एप स्टोर र प्ले स्टोरमा यस्ता सयौं एपहरु छन् । नयाँ के छ भनेर हेर्ने हो भनेर यसमा सेयर गर्ने र कमाउने भन्ने नारा राखिएको छ । अब सगुनको विषयमा तपाईले यहाँसम्म पढिसक्नु भएको हो भने यो संस्थाको विषयमा पक्कै तपाईलाई जानकारी भएकै हुनुपर्छ । 



अहिले सामाजिक सञ्जाल लोकप्रिय माध्ययम हो र कोरोना महामारीको समयमा नयाँ-नयाँ सामाजिक सञ्जालहरु निकै लोकप्रिय भइरहेका छन् । तर सगुनले कोरोनाको समयमा पनि कुनै आक्रामक योजना ल्याउन सकेन अहिले ल्याएको भिडियो तथा भ्याइस ट्याटस सेयर गर्ने सुविधाको विषयमा त तपाईलाई थाहै छ यो कुन कुन सञ्जालमा कति पहिला आइसक्यो भनेर । कोरोनाको समयमा ल्याउनुपर्ने भ्याइस भिडियो कल तथा अरु सुविधाहरु ल्याउन सकेको भए यो एप अरु विश्वासिलो हुने थियो र कोरोनाको समयमा अमेरिकी सरकारको राहत खाने अनि कर्मचारी र कार्यालय चलाउने मै सगुनको समय बितेको देखिन्छ ।       

गत वर्ष सगुनले एक हावादारी अपवाह फैल्यायो, मोबाइल एप्लिकेशनकै माध्यमबाट मोबाइल चार्ज गर्न सकिने योजना । एप्पल, गुगलले समेत अहिलेसम्म नसोचेको यो योजना दिल्लीमा रहेका केही आइटी विज्ञ भन्नेहरुले सगुनलाई सुनाएका थिए र सगुनले अन्धाधुन्द यसलाई प्रचार गरिदियो । सगुनकै भनाईअनुसार बजेट भए अहिलेपनि यो योजना अगाडि बढाईने छ । यदि बाह्य उर्जाको प्रयोग विना एप्पिकेशन वा सफ्टवेयरकै आधारमा मोबाइल चार्ज हुने भए त अहिलेको प्रविधी युग नै एक सताब्दी अगाडि जाने थियो तर जे होस यसको आधारमा पनि केही लगानीकर्ता भने कमायो सगुनले ।  

अब कुरा गरौं कम्पनीको वित्तिय अवस्थाको । यदि तपाई हामीले मागेमा सगुनले सजिलै वित्तीय विवरण उपलब्ध गराउँदैन । तर, अमेरिकाको Securities and Exchange Commission(SEC) दर्ता भएको संस्था भएको कारण यसको विवरण लुकाउन मिल्दैन र स्वतन्त्र निकायबाट यसको अडिट पनि हुनुपर्छ । यसले नै बुझाएको विवरण अनुसार संस्थाको अहिलेको आम्दानी भनेकै सेयरबाट उठाउने रकम हो  र यो रकमबाटै भारत, काठमाडौं र अमेरिकामा रहेका कर्मचारी पालिएका छन् । भाडामा मात्रै कम्पनीले वर्षको झण्डै १ लाख डलर खर्च गर्छ । कम्पनीको सञ्चालन खर्च हेर्नुहोस यहाँबाट । सञ्चालन खर्च २०१९ मा करिब ५ लाख थियो तर २०२० को प्राप्त विवरण अनुसार ६ महिनामा ४ लाख ६ हजार डलर छ । 

  कम्पनीको ऋणभार गत वर्षसम्म करिब ११ लाख थियो भने गत वर्ष ७ लाख ३८ हजार रहेको भनिएको छ । याद गर्नुहोस यो ऋणभार भनेको कम्पनीमा रहेको सेयर लगानीकर्ताको रकम पनि हो जुन कम्पनीको सम्पत्ती नभएकोले ऋणको रुपमा देखाउने गरिन्छ अर्थात १० लाख नै ऋणमा रहेको कम्पनी भन्ने अर्थ नभए पनि कम्पनीको आम्दानीको नाम नै सेयर लगानीकर्ताको लगानी मात्रै हो र यो करिब ५ वर्षदेखि चलिरहेको छ । 

अब कुरा गरौं नेपालीको टेक स्टार्ट अप कम्पनीमा लगानी किन नगर्ने ? हामीले कम्पनीको आम्दानीको कुरा गर्दैमा तपाईले सोचिसक्नुभयो होला स्टार्ट-अप कम्पनीको आम्दानी नै अरु के हुन्छ र ? हुन पनि हो कम्पनीको सुरुवातमा हुने आम्दानी भने कै लगानी हो त्यो किन त संस्थापकले गर्नुपर्यो कि त सेयर लगानीकर्ताले । तर एउटा स्टार्ट-अप कम्पनीलाई समयको प्रत्येक सेकेन्ड कति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई नजर अन्दाज गर्न सकिँदैन । तपाईलाई नढाँटी भन्नुपर्दा सगुनले ५ वर्ष अगाडि ल्याएको योजना पुरानो भइसक्यो तर ५ वर्ष अगाडि लगानी गरेका लगानीकर्ताहरुले एक रुपैयाँ पनि प्रतिफल पाउने वातावरण बनेको छैन । अहिले सगुनले अब आफु चाँडै सेकेन्डरी मार्केटमा अर्थात दोस्रो बजारमा प्रवेश गर्ने वताईरहेको छ । सगुनको योजना अनुसार २०२१ सम्ममा सेकेन्डरी मार्केटमा लिष्टेड हुनुपर्ने हो तर कोरोनाको कारण यो हुनेमा शंकै छ  र कोरोनाकै बाहानामा अमेरिकी सरकारबाट सुविधा समेत सगुनले हात पारेको छ । 

अब कुरा गरौं यदि सेकेन्डरी मार्केंटमा गइहाल्यो भने के हुन्छ भनेर । अहिले लगानी गरेको लगानीकर्ताले आफ्नो लगानी फिर्ता गर्ने वा प्रतिफल लिने भनेकै कम्पनीले दोस्रो बजारको सेयर कारोबार सुरु गरेपछि हो । अमेरिकामा कस्ता कस्ता कम्पनीले दोस्रो बजारमा प्रतिष्प्रर्धा गर्दा कुन हालतमा छ तपाईले देखिरहनु भएको छ । अब यही अवस्थामा दोस्रो बजारमा जाँदा के सगुनबाट फाइदा होला त ? यो विषय सोचनीय छ ।

अन्त्यमा, हामीलाइ सगुनमा लगानीको विषयमा धेरैले सोध्नुभएकोले यो लेख प्रकाशित गरेका हौं । सगुनले नेपाली भएको धेरै देशमा प्रचार गरिरहेको छ । कुनै पनि स्टार्ट-अप कम्पनीमा लगानी गर्नु जोखिम र फाइदाको हिसाब बराबर हुन्छ अर्थात जोखिम पनि धेरै र फाइदा पनि धेरै तर अहिलेसम्म सगुनले सार्वजनिक गरेको जुन योजना वा प्रोडक्ट छ त्यसको आधारमा फाइदाजनक हो भन्ने हामीलाई लाग्दैन । यसको मतलब टेक कम्पनीले भविष्यमा कुनै राम्रो योजना ल्याएमा निकै सफल पनि हुन सक्छ । अहिलेको युग प्रविधिको युग हो त्यसैले सगुनले अर्को विश्वासिलो योजना नल्याएसम्मको लागि भने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामै वस्दा उपर्युक्त देखिन्छ ।


Post a Comment

0 Comments