नेपाल जाँदा नेपाली नै बन्ने कि ?



शिवहरि खतिवडा 

संसारको विभिन्न देशबाट नेपालीहरुको ठूलो पर्व दशैं तिहारकोलागि नेपाल जाने आउने क्रम बढिररहेको छ । अमेरिकाको न्यूर्योकदेखि अष्ट्रेलियाको सिड्नीसम्म, बेलायत, फ्रान्स, दुवई, कतारलगायतका संसारको सबैभन्दा शक्तिशाली देशहरुबाट हामी नेपाल गइरहेका छौं । जुन देशमा विमानस्थलबाट भुइमा नटेकी घर पुगिन्छ त्यस्ता देशबाट हामी नेपाल गइरहेका छौं । के डाक्टर के पाईलट सबै तह र तत्काका नेपालीहरु यो चाडपर्वको समयमा नेपाल पुगेका छौं । अझै कोरोना महामारीको समयमा विदेशमा रोकिएका धेरै नेपाली अहिले हवाई यात्रा सुचारु भएसंगै नेपाल भित्रिने क्रम बढेको छ ।  

 म आंफै पनि अघिल्लो वर्ष कोरोना महामारी कै बीचमा यही समयमा नेपाल पुगेर फर्केको नाता र अहिले नेपाल जानुभएका धेरै व्यक्तिहरुले पोख्नुभएको गुनासोको आधारमा दुई शब्द लेख्ने आँट गरेको छु । लामो समय विदेश बसेर फर्केको हामी नेपालीलाई नेपालमा कतिबेला विमानस्थलबाट निस्कौंला र आफ्नो आत्मिय व्यक्तिहरुसंग अंकमाल गरौंला भन्ने व्यग्र चाहना  हुनु असामान्य कुरा होईन । यही समयमा तगारो बनिदिन्छ विमानस्थलमा आईपर्ने झन्झहरु । लामो लाइन, कागजपत्रमा हुने किचलोले केहीलाइ विमानस्थलबाटै गलत छाप पर्न गएको हुनसक्छ । कम्तिमा विमानस्थलजस्तो स्थान चुस्त दुरुस्त होस वा होला भन्ने अपेक्षा राख्नु हामी आम नेपालीको लागि कुनै अपराध होईन तर नेपालको अरु क्षेत्र जस्तै विमानस्थलमा पनि कमी कमजोरी प्रसस्त छन् । विशेष गरेर कर्मचारी वर्गबाट विदेशमा जस्तै सेवाको अपेक्षा विदेशमा लामो सयम बसेका नेपालीहरुमा बढी हुन्छ नै ।      

हो, हामीले विमानबाट ओर्लिएर भुई नदेख्ने देशबाट नेपाल जाँदा नेपालमा विमानस्थलको धावनमार्गबाटै वर्षौं नदेखेको र नछोएको आफ्नो धर्तीलाई टेक्ने सौभाग्य पाउँछौं । हामीले त्यहीदेखि नेपालको हावा र नेपालीपनको आनन्द लिन पाउँछौं । हाम्रा विमानस्थलमा काम गर्ने कर्मचारीहरु अमेरिकाको जेफके अन्तराष्ट्रिय विमानस्थलमा काम गर्ने कर्मचारी जस्ता छैनन् तर उनीहरुको चर्को बोलीमा पनि आत्मियता भेटेको छु मैले । केही नेपाली मित्रहरुले विमानस्थलमा कर्मचारीले रुखो बोले भनेर गुनासो गर्नुभएको देखेको छु । आफ्नो सौभाग्य होला मेरो पालामा मैले विदेशमा भन्दा राम्रो सेवा गर्ने नेपाली कर्मचारी त्यही विमानस्थलमा भेटेको थिएँ । विशेष गरेर यो लेख्नुको तात्पर्यमा पनि उनीजस्तै कर्मचारीको सम्मान र मनोबलको लागि हो । 

  केही समस्या देखियो भने कि त आफू, कि कर्मचारीहरु मध्ये एक पक्ष मात्रै नम्र भएर बोलेमा समस्या समाधान हुन्छ, बढ्दैन । स्वभाविक रुपमा नेपालीहरुको ठूलो पर्व दशैं त्यसमाथी पनि कोरोना महामारीको कारण धेरै समय विदेशमा रोकिएका नेपालीहरु  नेपाल फर्कने चाप ह्वात्तै बढेको छ । यस्तो अवस्थामा दशै तिहार नभनी काम गरेका कर्मचारीहरु अतालिनु सामान्य हो र उनीहरुले केही धैर्यता गुमाउनुलाई पनि मानवताको नाताले असामान्य लाग्दैन । करिब ५ वर्षपछि गत वर्ष नेपाल जाँदा विमानस्थलमा अलमलिएको म आफैंलाई एक कर्मचारीले लगेज बोक्दै सबै प्रक्रियामा सहयोग गरेर मेरो अघि अघि बाटो देखाउँदै गेटैसम्म आएर विदाई गरेको सम्झदा नेपालको विमानस्थल त्यस्तो खराबै छ भन्नेहरुसंग सहमत हुँनै मन लाग्दैन । केही व्यक्तिहरुले नियन्त्रण गुमाउँछन् होला त्यो मानविय कमजोरी नै हो तर विमानस्थलको विषयमा एक कर्मचारीको कमजोरीलाई लिएर राष्ट्रिय रुपमा हल्ला फिजाउँदा राम्रा काम गर्ने कर्मचारीको मनोवल गिर्छ भन्ने लाग्छ र उनीहरुको मिहेनतलाई नजर अन्दाज गर्नै मन लाग्दैन ।    

     समस्या विमानस्थलका कर्मचारीमा मात्रै नभएर हामी मै पो छ कि ? त्यो पनि खोतलौं न । कतै हामीले धेरै नै अपेक्षा बोकेर पो नेपाल ओर्लिएका छौं कि ? गत वर्ष मेरो अगाडि प्रस्थानको लागि पासपोर्ट बुझाउने स्थानमा एक नेपाली ढाकाको टोपी लगाएर विदेशीहरुको लागि तोकिएको लाईनमा उभिएका थिए ।


समस्या विमानस्थलका कर्मचारीमा मात्रै नभएर हामी मै पो छ कि ? त्यो पनि खोतलौं न । कतै हामीले धेरै नै अपेक्षा बोकेर पो नेपाल ओर्लिएका छौं कि ? गत वर्ष मेरो अगाडि प्रस्थानको लागि पासपोर्ट बुझाउने स्थानमा एक नेपाली ढाकाको टोपी लगाएर विदेशीहरुको लागि तोकिएको लाईनमा उभिएका थिए । नेपाली ढाका टोपी र सबै नेपालीपन देखेरै होला त्यहाँको सुरक्षाकर्मीले उनलाई नेपालीहरुको लाईनमा लाग्न र त्यो लाईन विदेशीको लागि छुट्याएको बताए, उनले ति सुरक्षाकर्मीलाई हप्काउँदै अमेरिकाको पासपोर्ट देखाएका मेरो आँखामा अहिले पनि नाचिरहेको छ । उनले सामान्य रुपमा आफूँसंग विदेशी राहदानी रहेको बताउन सक्थे तर उनको त्यो रवैयालाई धेरै नेपालीहरुले नमिठो मुख लगाएर हेरिरहेका थिए । विमानबाट ओर्लिने वित्तीकै हामी विदेशी सभ्यता र संस्कार भुलिदिन्छौैं । विदेशमा कुनै कामको लागि घण्टौं शान्तसंग लाईनमा वस्ने हामी नेपालमा थोरै कुर्नुपरेमा नेपाली पारा निकालिदिन्छौं । 

हो नेपालको विमानस्थल हामीले सोचेको जस्तो छैन होला । त्यहाँ काम गर्ने सबै कर्मचारी राम्रा र हामीले सोचेको खोजेको जस्तो पनि छैनन् होला तर हामी पाहुनाको रुपमा गएका केही व्यक्तिहरुले गर्वको साथ पुरै विमानस्थल र कर्मचारीको विषयमा दिएको सार्वजनिक अभिव्यक्तिले असल कर्मचारीहरुको मनोलव नगिराऔं भन्ने मात्रै हो । कर्मचारीको कमी कमजोरीको लागि विमानस्थल मै गुनासो गर्ने निकाय राखिएको देखेको थिए । नभए सरकारको आधिकारीक निकाय मार्फत पनि खराब नियत भएका व्यक्ति छन् भने गुनासो गर्ने प्रक्रियागत विषयलाई सोचौं । तुलनात्मक रुपमा नेपालको विमानस्थल सुधारिँदै छ । विमानस्थलको साजसज्जा र व्यवस्था विस्तारै विदेशी स्तरमा पुग्दै छ र त्यो संगै कर्मचारी व्यवस्थामा पनि सुधार आएको देखेको छु तर सोचेजस्तै एक सयमा एक सय प्रतिशत नै सुधार आएको छैन । कर्मचारी क्षेत्रको भद्रगोल त विमानस्थलको मात्रै होईन नेपालको खानदानी समस्या नै हो । यो समस्या हरेक निकायमा आम नेपालीले दैनिक भोगि नै रहेका छन् । हामी दुई दिनको लागि जाने पाहुनाको लागि मात्रै नौलो लागेको हुनसक्छ ।

  अन्त्यमा, समस्यालाई चुप लागेर नजर अन्दाज गरिदिऔं भन्ने आसय होईन तर केही व्यक्तिको लागि सिंगो व्यवस्थालाई बदनाम नगरौं भन्ने मात्रै हो । विशेष गरेर नेपालको लागि झोला बोकेर आफू बसेको देश छोड्दै गर्दा नेपाल पनि विदेशको जस्तै हुने अपेक्षालाई केही समयको लागि छोडेर जाऔं । नेपालीहरुले दैनिक भोगिरहेको समस्यासंग घुलमिल हुन र सकिन्छ भने त्यो समस्या सामाधानको लागि रचनात्मक भुमिका खेल्नतिर लागौं । विदेशीपनको अपेक्षा लिएर नेपाल जाने हो भने विमानस्थलमा मात्रै होईन विमानस्थलबाट निस्केपछि पनि प्रत्येक पाईला पाईलामा तपाईलाई समस्या लाग्छ सक्छ । यो म आफैंले भोगेर आएको छु ।  


Post a Comment

0 Comments