डेलिगेट भण्डारीलाई विद्यावारिधि

नेपालमा जन्मिएर पहिलोपटक अमेरिकी राज्य सरकारको डेलिगेट बन्नुभएको मेरिल्याण्ड निवासी ह्यारी भण्डारीले विद्यावारिधि गर्नुभएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टीबाट उहाँले 'अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण' शीर्षकमा शोध गर्दै विद्यावारिधि गर्नुभएको हो । मंगलबार भएको दिक्षान्त समारोहमा उहाँलाई विद्याबारीधिको उपाधी प्रदान गरिएको हो । 

नेपाली पहिचानसहित समारोहमा सहभागी हुनुभएको भण्डारीले उपाधी ग्रहण गर्दैगर्दा समारोहमा उल्लेख्य नेपालीहरुको सहभागिता रहेको थियो । उहाँको दीक्षान्त उहाँको सफलता मात्र नभएर नेपालीहरुलाई ठूलो पाठ भएको भन्दै दीक्षान्त समारोहमा सहभागीहरु खुसी व्यक्त गरेका थिए । नेपालीले अमेरिकामा आएर सामान्य काम मात्रै गर्दैन, सबै क्षेत्रमा आफूदाई स्थापित गर्न सक्छ भन्ने उदाहरण भण्डारी भएको भन्दै सहभागिहरुले खुसी व्यक्त गरेका थिए ।  समारोहमा मेरिल्याण्ड विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए ह्रयास्बोस्कीले  डेलिगेट भण्डारीलाई डाक्टर भण्डारीका रूपमा परिचय गराउँदै उनले मेरिल्याण्ड राज्य संसदका एक प्रभावकारी डेलिगेटका रूपमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका गर्नुभएको थियो ।  

दीक्षित भएपछि उहाँले फेसबुकमा प्रतिक्रिया दिँदै उहाँले सबै नेपालीको साथ र सहयोगले यो सम्भव भएको बताउनुभएको छ । भण्डारी मेरिल्याण्ड राज्यको मात्र नभएर अमेरिकाभर नेपालीहरुको समस्यामा सहयोगको लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ । नेपालीले पनि अमेरिकी राजनीति र शिक्षामा केही गर्न सक्छ भन्ने उदाहरण बन्न सफल हुनुभएकोमा डा. भण्डारीलाई परदेशी पोष्टको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । 

 उहाँको स्ट्याटस जस्ताको तस्तै ः 

'आभारी छु, कृतज्ञ छु' 


आज म विनम्रतापूर्वक एउटा खुशीको खबर सुनाउन लागिरहेको छु । अन्ततः मैले विद्यावारिधि (पीएचडी) गरेँ। यसका लागि म त मात्र निमित्त हुँ। यो सबै तपाईंहरूको सहयोग, साथ र शुभकामनाले आर्जेको साझा उपलव्धी हो । म यहाँहरू सबैलाई यो उपलव्धीको हकदार ठान्छु र यसको श्रेय सबैमा सरोबरी बाँड्न चाहन्छु ।

मेरो विद्यावारिधिको विषय अमेरिकी नेपालीहरूको राजनीतिक सहभागिता तथा भाषिक एकीकरण’ हो । अमेरिकामा रहेका हामी सबै नेपाली अमेरिकीहरूको साझा चासोको विषयको अध्ययनबाट केही अपत्यारिला तर गम्भीर निष्कर्षहरू पाइएको छ। जसले हामी आफैंलाई चिहाउने सानो झ्याल दिएको छ भने अमेरिकी सरकारलाई त हामीलाई हेर्ने ऐना नै दिएको छ। समयक्रममा यसका उपलव्धीहरू हामी साझा गर्ने नै छौं ।

अमेरिकामा आएपछि हामीले मूलतः यहीको राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता रहदै आएको छ । त्यही मान्यतालाई प्राज्ञिक कोणबाट हेर्न र हेराउन मेरो अध्ययनले ठूलो महत्व राख्दछ । यहाँहरूले गर्नुभएको मायाले मलाई प्राप्त भएको पहिलो नेपाली अमेरिकी डेलिगेटको परिचयलाई यो उपलव्धीले थप विश्वसनीय, आधिकारिक र ओजपूर्ण बनाउने छ भन्ने मेरो विश्वास हो। घरदेशका हौं या परदेशका कहींका पनि नेपालीले शीर उठाएर बाँच्नुपर्छ । म मेरो कर्मबाट आफूलाई पनि  र अरू कसैलाई पनि त्यस्तो हुने वातावरण बनाउन हरदिन प्रयत्न गर्ने नै छु ।

Post a Comment

0 Comments