परदेशी विशेष
पछिल्लो समय देशको राजनीतिमा चर्चाको शिखरमा रहेको नाम हो रवि लामिछाने । पूर्व सञ्चारकर्मी समेत रहेका लामिछाने आफ्नो सञ्चारकर्म बाहेक पनि बेला बेलामा चर्चामा आउने गर्छन् । अहिले राष्टिय स्वतन्त्र नामक पार्टी खोलेर स्वघोषित सभापति बनेपछि उनको चर्चा अरु चुलिएको छ ।
केही समय अगाडि अमेरिकाबाट नेपाल फर्किएका लामिछानेले अमेरिकी पासपोर्टको विषय गुपचुप राख्न खोजेका थिए । अमेरिकी नागरिकता बोकेर नेपालमा जागिर सुरु गरेका उनको विषयमा सञ्चार माध्यममा आएपछि उनले पासपोर्ट अमेरिकी सरकारलाई बुझाईदिए । सञ्चार माध्यममा आएपछि नै उनले गुपचुप राख्न खोजेको पासपोर्ट हतार हतार अमेरिकी दुतावासमा लगेर बुझाएका थिए ।
त्यसपछि उनको डिभोर्स र अरु सम्बन्धको विषयमा चर्चा सुरु भएपछि त्यसलाई पनि खुल्लम खुल्ला सामाजिक सञ्जालमै लेखेर प्रतिवाद गरे । आफ्नी पूर्व श्रीमतीको विषयमा फेसबुकमा सार्वजनिक पोष्ट नै गरेर चरित्र हत्यामा उत्रिएका थिए । अर्थात उनी आफ्नो बचाउको लागि जस्तो प्रतिवाद गर्न पनि तयार हुन्छन् । सकेसम्म लुकाउने, सार्वजनिक भए जोडतोडले प्रतिकार गर्ने लामिछानेको शैली नै हो ।
पूर्व श्रीमतीसंगको विवाद सेलाउँन नपाउँदै नेपालमा एक फिल्म उद्यमीसंग विहे गरेका उनै लामिछानेले अमेरिकामा रहँदा खाएको ऋण नतिरेको समाचार सार्वजनिक भएपछि अरु चर्चामा छन् । अमेरिकाको पासपोर्ट बुझाएपनि उनले खाएको ऋण समयमै नबुझाउँदा उनीविरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यमा मात्रै ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ । सबै मुद्दा वित्तीय ठगिको विषयमा रहेको थियो । सोही विषयमा उनले फेरी फेसबुकमा लेख्दै आफ्नो बचाउमा सफेद झुटको साहारा लिएका छन् । पहिला वित्तीय कम्पनीको बारम्वार ताकेका र कलेक्टरको ताकेतालाई पनि वेवास्ता गरेर केस अदालतमा पुगेपछि घर बेचेर ऋण तिर्ने रविको छवि लुकाउन उनलाई कुनै ठूलो कुरा भएन । प्रश्न त यति मात्रै हो यदि उनको ठाउँमा अरु भएको भए रविले कति खेदो गर्थे होला यहि विषयलाई लिएर ।
उनले राम्रो नियतले ऋण तिरेको भनेका छन् तर नियत राम्रो हुनेले अमेरिकी अदालतमा मुद्दा परेपछि मात्रै ऋण तिर्दैन । आफूले खाएको ऋण तिर्नको लागि अदालतको बाटो हेर्नु पनि पर्दैन । उनले फेसबुकमा आफ्नो विरुद्ध कुनै पनि मुद्दा छैन भन्दै लेखेका छन् तर अमेरिकामा दर्ता भएको सबै मुद्दामा उनलाई विपक्षी बनाईएको छ । यसको अर्थ हो आफ्नो बचाउको लागि उनी जे पनि भन्न सक्छन् र उनका समर्थकले त्यसलाई पत्याईदिन्छन् पनि ।
उनले अमेरिकी पासपोर्ट बुझाए पनि अमेरिकामा रहँदा खाएको ऋण भने समयमा बुझाउन विर्षीएछन् । उनको नाममा रहेको ऋण उठाउन अमेरिकाको वित्तीय कम्पनीहरुलाई अमेरिकाको मेरिल्याण्डमा रहेको अदालत नै ढकढक्याउन पर्यो । अब यो विषयमा पनि धेरैजसो मुद्दा किनारा लागिसकेको छ । एक दुई मात्रै टुंगोमा पुग्न बाँकी छ । यो विषय कसरी टुंगो लाग्यो त्यो रवि, बैंक र अदालतलाई थाहा होला हामीलाई चासोको विषय पनि भएन । तर अब तपाईको मनमा विचार आउँला मुद्दा किनारा लागेपछि त सक्किगयो नि फेरी किन बखेडा ? तर यहाँ मुद्दाको विषय मात्रै नभएर नैतिकताको विषय पनि जोडिएको छ ।
अमेरिकामा सामान्यतया ऋण उठाउन अदालतमा मुद्दा पर्नु भनेको अन्तिम विकल्पको प्रयोग गर्नु हो । त्यस अगाडि पनि पटक पटक ऋणीलाई सुचित गर्ने र ताकेता गर्ने गरिन्छ । यि सबै प्रयासलाई वेवास्ता गरिए मात्रै अदालतमा मुद्दा पर्ने हो । यसरी पर्ने मुद्दालाई अपराधीक मुद्दाको रुपमा हेरिन्छ । मुद्दाको प्रकृती र वादीको क्षतीको आकार हेरेर उस्तै परे पक्राउ गर्ने आदेश सम्म दिईन्छ । यो हिसाबले रविलाई पटक पटक खबर भएर पनि ऋणको विषयलाई बेवास्ता गरिएको भन्ने बुझ्न गाह्रो छैन । खबर कसरी भयो भन्ने लागेको हो भने त्यो पनि अहिले ईमेलको माध्ययमबाट एक सेकेन्डमा खबर पुग्छ । यो विषयमा बचाउको लागि जे भन्न पनि सकिन्छ तर आफ्नै नाममा विदेशमा रहेको ऋणको त मतलब नगर्ने रविले देश हाक्ने साहस गरिरहेका छन् । यही बेला प्रश्न उठ्छ के उनले देशको ऋणको मतलब गर्लान् ? उनको बचाउको लागि सयौं प्रतिवाद गर्न सकिन्छ तर के उनको नैतिकता उनले भाषणमा गर्ने प्रश्न जस्तै ईमानदार छ ?
सामान्यतया विकसित देशमा ऋण लिएर बेलामा नतिर्नु गम्भीर अपराध ठहर गरिन्छ । ठूला ठूला ऋणको लागि त ईन्टरपोल लगाएर विश्वको कुनै पनि कुनामा लुकेका व्यक्तिलाई पक्राउन गरिन्छ तर साना तिना ऋणहरु भने अदालतमा पुगेर टुंगिन्छ । रविको विषय साह्रै ठूलो होईन । उनको नाममा रहेको करिब २५ लाख नेपाली रुपैयाँको हाराहारीको ऋण अदालतमा पुगेर टुंगिएको देखिन्छ । यो रकम रविको क्षमता बाहिरको पनि होईन । प्रश्न त ईमानदारिताको मात्रै हो । यदि रविको ठाउँमा अरु थियो भने रविले नै यस विषयमा सयौं प्रश्न गरिसक्थे । आफैंले खाएको ऋण नतिर्नेले देश बनाउने ईमानदार कुरा गर्न कसरी सुहाउला र ? खैर, यो विषय तपाईहरुलाई र रविजीलाई नै ।
अर्कोे विवादले भरिएको रविको पार्टीको कुरा । देशमा केही समय अगाडि बालेन शाह स्वतन्त्र उमेदवारको रुपमा काठमाडौंमा उदाए । उनले के कति काम गरे र गर्दै छन् त्यो पाटोलाई अहिले छोडिदिउँ तर उनले एउटा जग भने बसालेका छन् त्यो हो अरु पार्टीका मान्छे र नेतालाई गाली नगर्ने अर्थात सबैलाई सम्मान गर्ने । कुशल राजनीतिमा आफ्नो एजेण्डालाई जिताउने हो ता कि अरुको आलोचना गरेर ठूलो मान्छे बन्ने । तर रवि लामिछानेको प्रत्येक सभामा आफ्नो एजेण्डा भन्दा अरुको आलोचनामा वित्छ । जसरी केपी ओलीले प्रचण्डलाई गाली गर्छन् र प्रचण्डले केपीलाई, रविको भाषण पनि त्यस्तै हुन्छ । तर फरक यति हो उनले सबै नेतालाई गाली गर्छन र ताली खान्छन् । उनको उदेश्य पनि अरुलाई गाली गरेर मत कमाउनु नै रहेको छ । आफ्नो देश बनाउने एजेण्डा राम्रो भए अरुलाई गाली नगरि पनि चुनाव जितिन्छ भन्ने रविले सिकेकै छैनन् । राजनीतिमा अरुलाई गाली गरेरै भोट पाईन्छ भन्ने समान रानीतिक धारमा उभिएर फरक कुरा गर्नु पनि रविको लागि कुनै नौंलो कुरो होईन । अरुलाई गाली गर्दा आउने जमातको वाहवाहीले के रविले साच्चै देश बनाउने हुन् त ? कि रविन्द्र मिश्रको बाटोमा हिँड्ने हुन् ? त्यो प्रश्न पनि रविलाइ नै ।
अपडेटको लागि हामीलाई फेसबुकमा लाईक गर्नुहोस
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।