अमेरिकामा दशैंः घरमा नभए मन्दिरमा जमरा, खसी किन्दा विशेष छुट


नेपालदेखि १२ हजार ७ सय ५५ किलोमिर टाढा रहेको संयुक्त राज्य अमेरिकामा पनि नेपालमा जस्तै हर्षोल्लासका साथ दशैं मनाइदै छ । यहाँ बढ्दै गएको नेपालीको संख्या तथा विस्तारित नेपाली समाजको कारण प्रायः नेपालका सबै चाडपर्व नेपालमा जस्तै हर्षोल्लासका साथ मनाईने गरिएको छ । अझ वर्ष दिनमा आउने सबै भन्दा ठूलो पर्व दशैं यहाँ बढी महत्वका साथ मनाईन्छ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) परिसरमा जमरा पुजन सहित गरिएको घटस्थापना शुभारम्भ । परिसरमा नवरात्रको अवधीभर हरेक दिन विहान चन्डी पाठ र देवी पूजा र हरेक बेलुका भजन कीर्तन गरिने गरिएको छ । 
तस्वीर: पत्रकार गुणराज लुईटेलको फेसबुकबाट 


नेपालमा जस्तै अमेरिकामा पनि घटस्थापनाको दिनदेखि नै दशै मनाईन्छ । नेपालमा प्राय आफ्ना आफन्तकाबिच मनाईने दशै अमेरिकामा भने सबै नेपाली मिलेर मनाउने गरेको पाईन्छ । यहाँ रहेका नेपालीहरुले कतिपय स्थानमा संयुक्त रुपमा दशंै मनाउँछन् भने कतिपयले आफ्ना आफन्तको साथमा दशैं मनाउने गरेका छन् । आफ्नो आफन्त भए आफन्त मान्यजनको हातबाट र नभए छरछिमेकमा रहेका जेष्ठ सदस्यको हातबाट टिका प्रसाद ग्रहण गरेर दशैं मनाईन्छ ।

कतिपय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरुमा दशैंको निकै नै चहलपहल देखिन्छ । नेपालमा जस्तै सपिङ्ग गर्ने, आफन्त मान्यजनहरुसँग भेटघाट गर्ने र ठूलाबडाबाट आर्शिवाद लिने चलनले यहाँ पनि निरन्तरता पाईरहेको छ । यहाँ पनि प्रायजसो नेपालीको बसोबास हुने राज्यहरुमा हिन्दु मन्दिर निर्माण गरिएको छ । 

नेपालीहरुले घरैमा दशैंको जमरा राख्ने र राख्न नमिलेका नेपालीहरुको लागि मन्दिरमा जमरा राखेर वितरण गर्ने गरिन्छ । दशैंको दिन मन्दिरहरुमै पनि दशैं मनाउने गरिन्छ । यहाँ खुल्ला स्थानमा पशुबध गर्नको लागि भने बन्देज गरिएको कारण पशुबली दिन मिल्दैन । तर, फार्म हाउसहरुमा गएर दशैंको लागि खसी तथा अरु मासुको व्यवस्था भने गर्न सकिन्छ । नेपालीको बसोबास रहेको क्षेत्रमा पर्ने फार्म हाउसहरुले दशैंको लागि विशेष खसीको व्यवस्था गर्ने गरेका छन् । यो समयमा उनीहरुको ब्यापार बढ्ने कारण धेरै ठाउँमा दशैंमा विशेष छुटको समेत व्यवस्था गरिएको हुन्छ । जसको कारण कतिपय स्थानमा दशैंको लागि खसी किन्नेको भिड देखिन्छ । अमेरिकाका ५० वटै राज्यमा नेपाली रहेका छन् । जसमा प्राय सबै क्षेत्रमा दशैं तथा तिहारलगायतका पर्व मनाईन्छ । यहाँ मनाईने पर्वको विषेशता भनेको नेपालमा आफ्नो आफन्तकोबीचमा मात्रै मनाईने पर्व यहाँ नेपाली नेपालीबीचमा मनाईन्छ अर्थात सारा नेपालीबीच आफ्नोपन झल्किन्छ ।

अमेरिकामा नेपालीको संख्या ठ्याक्कै एकिन नभएपनि करिब २ लाख ५५ हजार नेपालीको बसोबास रहेको अनुमान छ । जसमा आधाभन्दा बढी नेपाली विद्यार्थी, रोजगारीको लागि आएकालगायत गैर आप्रवासी रहेका छन् । केही समय अगाडि सार्वजनिक भएको एक तथ्यांक अनुसार अमेरिकाका सबैभन्दा धेरै पूर्बी राज्यहरु न्यूयोर्क, मासाचुसेट, कनेक्टिकट, भजिर्निया, मेरील्याण्ड, डिसीलगायतका राज्यहरुमा नेपालीको संख्या धेरै छ । साथै टेक्सस, ओक्लाहोमा, लुजियाना,इण्डियाना, केन्टकी, फ्लोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, क्यालिफोर्निया तथा नेभेडामा नेपालीहरुको संख्या बढी छ ।

 यी सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई नेपालमा जस्तै मनाउने गर्दछन् ।  यहाँ नेपालीहरुले आफ्नो घर घरमा जमरा राख्ने, पूजा कोठामा दुर्गास्थापना गरी पूजा गर्ने र पुजा गर्ने व्यवस्था नमिलेमा मन्दिरमा गएर पुजा गर्ने तथा जमरा ल्याएर टिका र जमरा लगाउने चलन रहेको छ ।

विजया दशमी आफैँमा शुभ दिन भएकाले विशेष साईत भन्दा पनि दिन भरि नै अभिभावक तथा मान्यजनका घर गएर टिका तथा जमरा लगाउने गरिन्छ । तर, नेपाल र अमेरिकाको समय फरक भएको कारण यहाँ स्थानीय टिकाको साईत पनि निकालिन्छ । अमेरिकाभित्रै पनि फरक राज्यमा फरक समय हुने भएकोले स्थानअनुसार फरक फरक साईत हुने गर्दछ । यहाँ नेपालीपन झल्कने भेषभुषामा दशैंको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्ने गरिन्छ । विशेषगरी अमेरिकामा स्थाई बसोबासको सुविधा पाएकाहरुले आफ्नो आमाबुबालाई विशेष कामको लागि लिएर आउन मिल्ने भएको कारण यहाँ पनि मातापिता, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट टिका प्रसाद ग्रहण गर्ने गरिन्छ ।

नेपालदेखि धेरै टाढा भएपनि यहाँ दशैंको बेलामा हुने जमघटले झिनो रुपमा भने पनि नेपालीहरुलाई नेपालको झल्को मेटाउने भएपनि धेरैजसोको आफ्ना आफन्त नेपालमै हुने भएको कारण नेपालमै जस्तो गरि रमाउन सकेको देखिँदैन । तै पनि वर्ष दिनमा आउने पर्व पुरै खल्लो भने यहाँ हुँदैन । कतिपयले त दशैंकै अवसरमा छुट्टि मिलाएर नेपाल जाने र दशैं मनाएर फर्किने समेत गर्दछन् । दशैंको सबैलाई शुभकामना । 

Post a Comment

0 Comments