अमेरिकी अदालतमा ब्यूतियो रवि लामिछानेको मुद्दा: विदेशमा मुद्दा, नेपालमा सांसद !

 

परदेशी पोष्ट

काठमाडौं ।  चार महिना अगाडि नै अमेरिकाको सबै ऋण तिरेर मुद्दा बन्द भइसकेको बताएका रवि लामिछानेको दुई मुद्दा अमेरिकी अदालतमा अझै विचाराधिन रहेको भेटिएको छ । 

हामीले त्यहाँको अदालती रेकर्ड हेर्दा उनको दुई मुद्दा किराना नै नलागेको देखिएको हो । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको अदालतमा ९ मुद्दा मध्ये विचाराधिन तिन मुद्दा देखिन्छ, जसमा दुई वटाको फैसला हुनै बाँकी रहेको भेटिएको हो 



मुद्दा अमेरिकामा रहँदा रविले सञ्चालन गरेको व्यवसायसंग सम्बन्धीत रहेको भेटिएको छ । त्यहाँको रेकर्ड अनुसार रविले अगस्टमा भनेको बाहेक दुईवटा मुद्दाको फैसला भएको छैन । उक्त मुद्दा टाउसनको अदालतमा दर्ता भएको भेटिएको हो । नेपालको कानून अनुसार मुद्दा फैसला नभएसम्म कुनै पनि राजनीतिक पार्टीको उमेदवार हुन नमिल्ने कानूनी मान्यता र नैतिकतालाई लत्याउँदै उनी अहिले प्रतिनिधी सभाको लागि चितवन क्षेत्र नम्बर २ बाट उमेदवार भएका छन् ।  

नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेको विरुद्धमा अदालतमा दर्ता भएको ९ वटा मुद्दाको विषयमा उनले यसअगाडि नै स्पष्टिकरण दिईसकेका छन् । "अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ। प्रक्रिया त सबैले पूरा गर्नु पर्छ।" उनले भनेका थिए, "भागेको, लुकेको, ठगेको केही पनि होइन। भुलेको भए बेग्लै कुरा तर मैले  नियतवश  ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी राखेको छैन।" 

अदालतमा मुद्दा परेपछि ऋण तिर्नुलाई अमेरिकामा नियतवस नभएको मानिँदैन । अर्थात नतिरे कानूनी कारबाहीको भागिदार बन्नुको विकल्प हुँदैन ।  उनले अन्तिममा लेखेका थिए "यो दुनियाँमा आजका मिति सम्म मेरा विरुद्ध कुनै  मुद्दा  भएको मलाई जानकारी छैन।" तर कोर्टको रेकर्ड अनुसार ९ वटै मुद्दा उनकै नाममा दर्ता भएको छ ।  

अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको थियो । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो । धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयम रहेको छ । 

यसमा धेरै मुद्दाहरु किनारामा लागेको भएपनि रेनहार्ट नामक कम्पनीले दर्ता गरेको मुद्दाको विषयमा टुंगो लाग्नै बाँकी रहेको देखिएको हो । यस अगाडि उनले डिस्कोभर बैंकको मुद्दाको विषयमा मात्रै अदालतको रेकर्डमा विचाराधिन रहेको बताएका थिए । उक्त मुद्दा अहिले पनि रेकर्डमा विचाराधिन देखिएपनि फैसला भइसकेको छ ।  

रविले अमेरिकामा रहँदा बस्दा  गरेको कारोबारको रकम समयमा भुक्तानी नदिएको वा क्रेडिट कार्डको ऋण समयमा नतिरेकोमा बैंकहरुले अदालतमा मुद्दा दर्ता गरेका थिए ।  मुद्दाहरु सन् २०१८ र २०२१ को बीचमा दर्ता भएका छन् । 

अमेरिकामा समयमा ऋण नतिरेको खण्डमा अदालती प्रक्रियाबाट ऋणको असुल गर्ने कानूनी प्रक्रिया रहेको छ । अमेरिकामा समयमा ऋण नतिर्नुलाई अपराधको रुपमा हेरिन्छ । अदालती प्रक्रिया गएपछि ऋण भुक्तानी गरेपनि उक्त विकल्प अन्तिम विकल्पको रुपमा रहँने र खराब रेकर्ड रहने गर्छ ।  

Post a Comment

0 Comments