प्रदेशी संवाददाता, बाल्टिमोर 

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ( नेजा)को आइतबार सम्पन्न निर्वाचनबाट संस्थाका अध्यक्षमा विकास राज न्यौपानेसहितको नयाँ कार्य समिति चयन गरेको छ । 

नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले न्यौपानेलाई २०२१–२०२३ को अध्यक्षमा निर्वाचित गरेको हो । उक्त पदको लागि टेक्सासबाट न्यौपाने, पश्चिम अमेरिकाको क्यालिफोर्नियाबाट गोकुल ढकाल, मध्य क्षेत्रबाट किरण मरहठ्ठा, तथा पूर्वी अमेरिकामा रहेको भर्जिनियाबाट निदेश अधिकारी र न्यूर्योकबाट अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

नेजा निर्वाचन कार्यसमितिले दिएको जानकारी अनुसार न्यौपानेले  ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । अन्तिम अवस्थामा निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । प्राप्त जानकारी अनुसार किरण मरहठ्ठा र बिष्णुहरि घिमिरेले पनि उम्मेदवारी फिर्ता लिए र ३ जना उम्मेदवारबीच निर्वाचन भएको थियो ।   निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन ।  

निर्वाचित भएपछि न्यौपानेले आफूलाई सहयोग गरेकोमा नेजामा आवद्ध सञ्चारकर्मीहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा पोष्ट लेख्दै सहमतिय प्रणालीमा जान गरेको प्रयास सफल नभएपछि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । 'निर्वाचन प्रक्रियामा भाग लिएर अन्तिम समयमा मेरो समर्थनमा मनोनयन दर्ता फिर्ता लिनु भएर सदाशयता देखाउनु भएका विष्णुहरि घिमिरेलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अन्त्यमा नेजाको अधिवेशनको लागि सहयोग गर्नुहुने भर्जिनिया, डिसी मेटो एरियाका संस्थापक, पूर्व अध्यक्ष,पूर्व कार्यसमिति लगायत का सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।' उनले लेखेका छन् । 
फोटोः न्यौपानेको फेसबुकबाट