नेपाल अमेरिका पत्रकार संघमा न्यौपाने निर्वाचित

प्रदेशी संवाददाता, बाल्टिमोर 

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ( नेजा)को आइतबार सम्पन्न निर्वाचनबाट संस्थाका अध्यक्षमा विकास राज न्यौपानेसहितको नयाँ कार्य समिति चयन गरेको छ । 

नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले न्यौपानेलाई २०२१–२०२३ को अध्यक्षमा निर्वाचित गरेको हो । उक्त पदको लागि टेक्सासबाट न्यौपाने, पश्चिम अमेरिकाको क्यालिफोर्नियाबाट गोकुल ढकाल, मध्य क्षेत्रबाट किरण मरहठ्ठा, तथा पूर्वी अमेरिकामा रहेको भर्जिनियाबाट निदेश अधिकारी र न्यूर्योकबाट अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

नेजा निर्वाचन कार्यसमितिले दिएको जानकारी अनुसार न्यौपानेले  ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । अन्तिम अवस्थामा निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । प्राप्त जानकारी अनुसार किरण मरहठ्ठा र बिष्णुहरि घिमिरेले पनि उम्मेदवारी फिर्ता लिए र ३ जना उम्मेदवारबीच निर्वाचन भएको थियो ।   निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन ।  

निर्वाचित भएपछि न्यौपानेले आफूलाई सहयोग गरेकोमा नेजामा आवद्ध सञ्चारकर्मीहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा पोष्ट लेख्दै सहमतिय प्रणालीमा जान गरेको प्रयास सफल नभएपछि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । 'निर्वाचन प्रक्रियामा भाग लिएर अन्तिम समयमा मेरो समर्थनमा मनोनयन दर्ता फिर्ता लिनु भएर सदाशयता देखाउनु भएका विष्णुहरि घिमिरेलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अन्त्यमा नेजाको अधिवेशनको लागि सहयोग गर्नुहुने भर्जिनिया, डिसी मेटो एरियाका संस्थापक, पूर्व अध्यक्ष,पूर्व कार्यसमिति लगायत का सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।' उनले लेखेका छन् । 
फोटोः न्यौपानेको फेसबुकबाट 

Post a Comment

0 Comments